धान नेपालको प्रमूख खाद्यान्न बाली हो।
कृषिले राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने ३३.२%
कूल ग्राह्स्थ उत्पादनको ७% धानले मात्र ओगटेको छ। नेपालमा धानको खेती तराई, भित्री मधेस, दून-उपत्यका र बेसीहरुमा गरिन्छ। यसको खेतीका
लागि बढी तापक्रम र आद्रता भएको हावापानी आवश्यक हुनाले अबैज्ञानिक खेती प्रविधिले
रोग-कीराको प्रकोप बढाई उत्पादनमा ह्रास
ल्याउँछ। त्यसैले धानको बैज्ञानिक खेती प्रविधि र रोग-कीराको उचित व्यवस्थापन सम्बन्धी कृषक
जानकार हुनु अत्यावश्यक छ। धान बालीमा लाग्ने प्रमूख कीराहरु र तिनका एकिकृत व्यवस्थापन प्रविधिका बारेमा
सामान्य जानकारी तल प्रस्तुत गरिएको छ।
१. धानको खैरो फड्के [ Brown Plant Hopper,Nilaparvata
lugens (Stal); Delphacidae]
वयस्क र शिशु दुवै अवस्थाले बिरुवाको
आधारीय भागबाट रस चुस्दछन्। बिरुवाको कलिलो अवस्थामा यो फड्के लागेमा बिरुवाको
बृध्दि विकास राम्रो नहुनुका साथै गाँजको सङ्ख्या पनि कम हुन्छ। बाला निस्कने
बेलामा यो किरा लागेमा धानका गेडा फोस्रा निस्कन्छन्। प्रति मुल्जो (hill) २०० भन्दा बढी कीराको आक्रमण भएमा
धानका बोटहरु पहेँलिदै गएर खङ्ग्रङ्ग सुक्दछन्। यो अवस्थालाई फड्के जलन (Hopper Burn) भनिन्छ।
एकिकृत व्यवस्थापन प्रविधि
Ø खेतभित्र र वरिपरि झारपात नियन्त्रण
गर्ने
Ø बत्ती पासोको प्रयोग गर्ने
Ø रोपाई दुरी बढाउने (२० x १५ से.मि.)
Ø ३-४ दिनको फरकमा पानीको सतह बढाउने घटाउने र सुकाउने
Ø गाँजको घनत्व कम गर्ने (२-३ वटा)
Ø उपयुक्त्त जात (छिटो
लगाउने , छिटो पाक्ने एवम् क्षती सहन सक्ने जात ) को छनोट गर्ने
Ø कीराको ब्यापक आक्रमण भएमा ईमिडाक्लोरोप्रीड १७.८ एसएल १ मिलिलिटरप्रति ४ लिटर
पानीमा वा कार्बो सल्फान २५ प्र. ईसी १ मिलिलिटरप्रति लिटर वा
ट्राईजोफोस ४० प्र. ईसी
१.२५ मिलिलिटरप्रति
लिटर वा एजाडिराक्टिन ०.०३
प्र. ईसी
२ मिलिलिटरप्रति लिटर आलोपालो गरी एक-एक हप्ताको फरकमा छर्ने
२. धानको पहेँलो
गभारो [ Yellow Stem
Borer,Scirpophaga incetulas (Walker), Pyralidae]
यस कीराको लाभ्रे अवस्थाले बालीमा नोक्सान पुर्याउँछ।
यिनीहरुले धानको कलिलो अवस्थामा गाभोमा प्वाल पारी भित्र
बसेर नरम भाग खान्छन। यसरी भित्र पसेर खाँदा बिरुवाको बढ्ने भागलाई तल्लो तहबाटै
काटिदिन्छन् जसले गर्दा धानको विरुवा मर्दछ। यसरी मरेका गाभोलाई ‘मृत
गा’ (Dead Heart) भनिन्छ। धान फुल्ने बेलामा यो कीरा लागेमा
भुसमात्र भएको सेतो बाला (White
Head) देखिन्छन्।
एकिकृत व्यवस्थापन प्रविधि
Ø खेतको सरसफाईमा ध्यान दिने
Ø हरेक बर्ष धान काटिसकेपछि रहेको सम्पूर्ण ठुटा
जलाईदिने अथवा ठुटा डुब्ने गरी पानी पटाईदिने वा खेत जोतिदिने
Ø बेर्नाको पातको टुप्पामा देखिएका फुलहरुलाई
पातको टुप्पो (२.५-३ से.मी.) चुडेर नष्ट गर्ने
Ø बत्ती पासोको प्रयोग गर्ने
Ø धान खेतको बारीमा भटमास लगाउने
Ø ट्राइकोग्रामा परजीवि कीरा ५०,०००-१,००,००० प्रति
हेक्टरका दरले रोपाई गरेको ३-४ हप्ता पछि छाड्ने
Ø बी.टी. ( Bacillus thuriengensis) ३
ग्राम प्रति लिटर पानीका दरले छर्कने
Ø मित्रजिवको सँरक्षण गर्ने
Ø धेरै प्रकोप भएको खण्डमा कार्बोफ्यूरान ३% जी.आर. वा फिप्रोनिल ०.३% जी.आर. १.२५ कि.ग्रा प्रति रोपनीका दरले खेतमा छिपछिपे
पानी जमाई छरी ४ दिन सम्म खेतबाट पानी बग्न नदिने
३. धानको पतेरो [ Rice
Gundhi Bug, Leptocorisa oratorius (Fabricious), Coreidae]
पतेरोको बयस्क र बच्चा दुवै अवस्थाले धानबालीमा
नोक्सान पुर्याउँछन्। यसले धानको कलिलो अवस्थामा पातबाट रस चुसी बोट पहेँलो
बनाउँछ। फूल फूल्ने बेलामा बालातर्फ
आकर्षित भई दानामा दूध पसेपछि आफ्नो तीखो सुडले दानालाई छेडेर दूध चुस्छ। यसरी
पतेरोले चुसेको दानामा कालो दाग प्रष्ट देखिन्छ। फलस्वरुप धानका दानाहरु फोस्रा
हुन्छन्। कीराको प्रकोप उच्च भएको खण्डमा धानका बाला नुग्दैन र खडा देखिन्छन् भने
गाईबस्तुले समेत खादैँनन्।
एकिकृत व्यवस्थापन प्रविधि
Ø खेतभित्र र वरिपरि झारपात नियन्त्रण
गर्ने
Ø बत्ती पासोको प्रयोग गर्ने
Ø एकै समयमा पाक्ने जातहरु छनोट गरी
लगाउने
Ø गाई-भैँसीको पिसाबले जुटको बोरा भिजाई पासोको रुपमा प्रयोग गर्ने
Ø मित्रजिव बाघे खपटेको सँरक्षण गर्ने
Ø कीराको ब्यापक आक्रमण भएमा मालाथियोन
५०% इसी वा फेन्भेलेरेट २० % इसी
०.५ मिलिलिटरप्रति लिटर पानीका दरले बिरुवा
राम्ररी भिज्ने गरी छर्ने
४. धानको काँडादार खपटे [ Rice Hispa, Dicladispa
armigera (Oliver), Chrysomelidae]
यो खपटे तराई भेगको एक प्रमूख कीरा हो।
यसको बयस्क र लाभ्रे अवस्था दुबैले बालीमा नोक्सान पुर्याउँछन्। लाभ्रेहरुले पातको
भित्र-भित्र खन्दै हरियो भाग खान्छन्। यसरी लाभ्रेले
खनेको ठाउँमा सेता धब्बा देखिन्छन्। बयस्क खपटेले भने पातको माथिल्लो भागतिरको
हरियो भाग कोत्रेर खान्छन्। फलत: पातमा
मुख्य नसाको समानान्तर सेता धर्सा देखिन्छन्। अत्याधिक आक्रमण भएका पातहरु सेता
देखिन्छन्। यस्तो अवस्थामा सम्पूर्ण धान सुकेको देखिन्छ।
एकिकृत व्यवस्थापन प्रविधि
Ø खेतभित्र र वरिपरि झारपात नियन्त्रण
गर्ने
Ø रोपाई दुरी कम गर्ने
Ø बेर्नाको पातको टुप्पामा देखिएका
फुलहरुलाई पातको टुप्पो चुँडेर नष्ट गर्ने
Ø सिफारिस मात्रामा मात्र नाईट्रोजनको
प्रयोग गर्ने
Ø ब्याडमा टम्म पानी जमाएर पानीमा
उत्रेका खपटेलाई जम्मा गरी नष्ट गर्ने
Ø निमजन्य विषादि जस्तै अल्टीनिम ३ मिलिलिटरप्रति
लिटर पानीमा मिसाई प्रयोग गर्ने
Ø धेरै प्रकोप भई रासायनिक विषादि प्रयोग
गर्नुपरेको खण्डमा सम्पर्क विषादि क्लोरोपाइरिफस २०% इसी. १.२५ मिलिलिटरप्रति लिटर वा
लाम्डासाइहेलोथ्रिन ५% इसी. ०.५ मिलिलिटर प्रति लिटर वा मालाथियन ५०% इसी. १.५ मिलिलिटर प्रति लिटर पानीमा मिसाई प्रयोग गर्ने
५. धानको पात बेरुवा [Rice Leaf Folder,
Cnaphalocrocis medinalis (Guenee): Pyralidae]
यो कीराको लाभ्रे अवस्थाले धानबालीमा
नोक्सान पुर्याउँछ। लाभ्रेले धानको पातको दुवै छेउ टुप्पोबाट सुरु गर्दै मसिनो
सेतो रेसमी धागोले टाँसेर बेर्दछ। लाभ्रेले त्यसै बेरेको पातमा बसेर हरियो पदार्थ
कोत्रेर खान्छ। यसरी खाएका पातमा सेतो धर्साहरु देखिन्छन् र अन्तत: सुकेर मर्दछन्।
एकिकृत व्यवस्थापन प्रविधि
Ø खेतभित्र र वरिपरि झारपात नियन्त्रण
गर्ने
Ø रोपाई दुरी बढाउने (३०x२० सेमी.)
Ø धान खेत वरिपरि छायाँ पर्नेगरी
रुखविरुवा नलगाउने
Ø बत्ती पासोको प्रयोग गर्ने
Ø सिफारिस मात्रामा मात्र नाईट्रोजनको
प्रयोग गर्ने
Ø खेतमा कीरा देखिनासाथ ट्राइकोग्रामा परजीवि कीरा
५०,०००-१,००,००० प्रति
हेक्टर प्रति हप्ताका दरले छाड्नेs
Ø बी.टी. ( Bacillus thuriengensis) ३
ग्राम प्रति लिटर पानीका दरले छर्कने
Ø मित्रजिवको सँरक्षण गर्ने
Ø रासायनिक विषादि प्रयोग गर्नुपरेको
खण्डमा सम्पर्क विषादि क्लोरोपाइरिफस २०% इसी. १.२५ मिलिलिटरप्रति लिटर वा कार्बो
सल्फान २५% इसी. १ मिलिलिटरप्रति लिटर वा कारटेप हाइड्रोक्लोराइड ४% जीआर. १ मिलिलिटरप्रति लिटर वा लाम्डासहाइलोथ्रिन ५% इसी. ०.५ मिलिलिटरप्रति लिटर वा एजाडीराक्टीन
०.१५% ३-५ मिलिलिटरप्रति लिटरका दरले छर्ने
६. धानको फटेङ्ग्रा [Rice Grasshopper, Hieroglyphus
banian (Fab.) (Acrididae)]
फटेङ्ग्राका माउ र बच्चा दुबैले धानका
पातहरु खाएर नोक्सान गर्दछन्। कहिलेकाही त धानका बाला समेत काटी धेरै ठुलो क्षति
पुर्याउँछन्।
एकिकृत व्यवस्थापन प्रविधि
Ø खेतभित्र र वरिपरि झारपात नियन्त्रण
गर्ने
Ø हातेजाली प्रयोग गरी माउ र बच्चा नष्ट
गर्ने
Ø रासायनिक विषादि प्रयोग गर्नुपरेको
खण्डमा फेन्भेलेरेट (२०%) २५० मिलिलिटर वा फेनिट्रोथायन (५०%) ५०० मिलिलिटर प्रति ५०० लिटर पानीमा मिसाएर प्रतिहेक्टेर
जमिनमा छर्ने
0 comments:
Post a Comment